नेपालका पहाडी र हिमाली क्षेत्रहरु जैविक बिबिधता, मौलिक संस्कृति, र भौगोलिक वनावटका लागि अनुपम मानिन्छन । हिमाली क्षेत्रमा हिँउ तथा वरफका रुपमा रहेको अथाह पानीको भण्डारणबाट निस्कने ठुला नदी–नालाहरुलाई करोडौं मानिसले पानीको मुख्य स्रोतको रुपमा प्रयोग गर्ने गरेकाले यसको महत्वलाई अझ वढाएको छ । तर हालैका बर्षहरुमा गरिएका बिभिन्न अध्ययनहरुले उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको तापक्रम अन्य क्षेत्रहरु तथा बिष्वव्यापी औषत भन्दा उच्च दरमा बढीरहेको देखाएका छन् । यस्को कारण यि क्षेत्रहरुको जलवायुमा परिवर्तन र उतार चढाव आई बिभिन्न समस्याहरु देखिन थालिसकेका छन् । जलबायु परिवर्तनले मुख्य रुपमा यस क्षेत्रको कृषि प्रणाली, वनस्पती, जीवजन्तु, जीवनयापन, पानीको श्रोत आदिमा नकारात्मक असर गर्नुका साथै बाढि–पहिरो, अती वृष्टि, खडेरी जस्ता मौसमजन्य प्राकृतिक प्रकोपरुले जीवनयापनमा कठिनाई उत्पन्न गराएको छ ।